सफा र मेलमिलापयुक्त दलित बस्ती पुरस्कृत

बागलुङ, । बागलुङको जैमिनी नगरपालिकाले नगर भित्रका सफा र मेलमिलापयुक्त दलित बस्तीलाई पुरस्कृत गर्न थालेको छ । नगरपालिकाले तय गरेको नगर सरसफाईअन्र्तगत उत्कृष्ट हुने दलित बस्तीलाई पुरस्कृत गर्र्न थालेको हो । सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका दलित समुदायका बस्तीमा सरसफाई तथा मेलमिलापको अवस्थामा कमी आउँन नदिनका लागि दलित बस्ती पुरस्कृत गर्ने अभियान सुरु गरिएको नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरका १० वटा दलित बस्तीमा विभिन्न सूचकहरुका आधारमा गरेको सर्वेक्षणमा जैमिनी नगरपालिका वडा नं. ७ को गोवनपानी दलित बस्ती प्रथम, वडा नं. २ को वोरडाँडा द्वितीय र वडा नं. ५ को कुसुण्डे दलित बस्ती तृतीय भएका थिए । नगरपालिकाको कार्यदलले स्थानीय बस्तीमै पुगेर बस्तीको सुन्दरता, घर वरपरको सरसफाई, स्थानीयको सरसफाईप्रतिको सचेतना, छिमेकीहरुबीच रहेको मेलमिलाप, घर वरिपरिको करेसावारी, दैनिक खानपानमा प्रयोग हुने बस्तुहरु, एक आपसमा सहयोगको भावना लगायतका सूचकहरु तयार गरी बस्ती छनोट गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो ।

‘जैमिनी नगर क्षेत्रका दलितहरुको अवस्था अन्यत्रजस्तो नभएपनि केही ठाउँमा आर्थिक अवस्था राम्रो भएकाहरुको बसोवास हुने दलित बस्तीहरु फोहोर देखिने, एक–अर्को घरबीच झै–झगडा हुने, अस्वस्थकर खाना उपभोग गर्ने लगायतका समस्या देखिएका छन्, नगरपालिकाले प्रोत्साहन गर्दा उनीहरुको सोंचमा परिवर्तन हुन्छ भने किन नगर्ने भन्ने सोंचका साथ उत्कृष्ट दलित बस्ती पुरस्कृत गर्ने अभियान सुरु गरेका हौं ।’ जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताउनुभयो ।

नगरपालिकाले समुदायमा सुधारको वातावरण बनाउने प्रेरणा दिलाउँनका लागि यस्तो कार्यक्रम ल्याएको र पुरस्कृत बस्तीका कारण अन्य समुदायमा समेत सकारात्मक परिवर्तन गर्ने उत्प्रेरणा जाग्ने नगरपालिकाले जनाएको छ । कार्यदल सदस्य भेषराज शर्माले दलित बस्ती तथा सुन्दर घरलाई समेत पुरस्कृत गर्नेगरी अध्ययन गरेको बताउनुभयो । नगरभरि एकै खालका सुन्दर घर निर्माण गर्ने अभियानअन्र्तगत घरको सरसफाई, बगैचा, बनावट लगायतका सूचकका आधारमा नगरका उत्कृष्ट घर छनौट गरिएको थियो । जैमिनी नगरका सात हजार चार सय ७८ घरमध्ये जैमिनी नगरपालिका वडा नम्बर ४ गैरामादीकी प्रेम कुमारी शाहीको घर प्रथम, वडा नं. १० राङखानीका दलबहादुर थापाको घर द्वितीय र वडा नं. १ कुश्मीसेराका देवनारायण आचार्यको घर तृतीय भएको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा उत्कृष्ट ठहरिएका सबै बस्ती र घरहरुलाई सार्वजनिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । ‘झट्ट हेर्दा यो कार्यक्रमको प्रभावकारिता के भन्ने प्रश्न उठेपनि दीर्घकालिन रुपमा यो कार्यक्रमले परिवर्तनलाई आत्मसाथ गर्नका लागि ठूलो मद्धत गर्ने भएकैले कार्यक्रमलाई बजेटमा पारिएको हो ।’नगरप्रमुख पौडेलले भन्नुभयो । उत्कृष्ट बस्ती तथा घर छनौटका लागि नगरसभा सदस्य कृष्ण रिजाल, देवेन्द्र रेग्मी, चन्द्रबहादुर क्षेत्री र बरिष्ठ कार्यक्रम अधिकृत भेषराज पौडेल रहेको कार्यदल बनाएर जिम्मेबारी दिएको थियो । नगरपालिकाले उत्कृष्ट दलित बस्ती तथा घरहरु पुरस्कृत गर्ने भएपछि दलित बस्तीमा घरआँगनको सरसफाई गर्नुपर्छ, एक आपसमा मिलेर बस्नुपर्छ भन्ने भावनाको विकास भएको जैमिनी नगरपालिका वडा नं. ७ का वडा सदस्य केन्द्र रसाइले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार