नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातिय तथा भौगोलिक विविधता भएको देश हो । नेपालमा १२५ भन्दा बढी आफ्नै छुट्टै पहिचान भएका जातजातिहरूको बसोबास रहेको छ । हामी अनेक थरीका भाषा बोल्छौं, धर्म मान्छौं र अनेक किसिमका चाडवर्प तथा जात्रा मनाउँछौं । तर हामी सबै नेपाली हौं । हामीलाई हाम्रो देश अति प्यारो लाग्छ ।
हामी विदेशमा सम्पन्न सुविधामा बसे पनि आफ्नो देशको मातृभूमीको वनजंगल, झरना, हिमाल–पहाड, ताल–पोखरी, नदी–नाला, भीर–पाखा, लेख–बेंसी आदि रमणीय ठाउँलाई अवश्य सम्झिन्छौं । यस अर्थमा आफ्नो देशलाई बिर्सन खोजे पनि हामी बिर्सन सक्दैनौं । त्यसैले आफ्नो मातृभूमीलाई बिर्सन नसके जस्तै प्रत्येक जातजातिको रहनसन, भेषभुषा, धर्म संस्कृति, भेषभूषा, भाषा, चालचलन, रीतिरिवाजलाई बिर्सन खोजे पनि बिर्सन सक्दैनौं ।
अर्को शब्दमा भन्नुपर्दा फुलबारीबगैंचामा भएका प्रत्येक फूलको आफ्नै रङ, आफ्नै सुगन्ध र सौर्दय हुन्छ । त्यही चिनारीबाट आपसी समझदारी, सद्भाव र आदर उत्पन्न हुनसक्छ । त्यसैले कुनै जातजातिको जनसङ्ख्या भन्दा सो जातजातिको पहिचान र विशेषता के हो भन्ने कुरा मुख्य हो । त्यसैले कुनै जातजातिको जनसंख्याभन्दा पनि त्यस जातिको पहिचान, चिनारी, रीतिरिवाज, विशेषता र चाडपर्व के हो भन्ने नै मुख्य हो ।
मगर जातिको पनि आफ्नै छुट्टै पहिचान, रीतिरिवाज, धर्म, संस्कृति र चाडपर्वहरू छन् । मगर समुदायमा सांस्कृतिक रूपमा निकै धनी छ । अझै भन्ने हो भने मगर समुदाय गीत र नृत्यमा हुर्रा नाच, सोरठी, घाटु नाच, झयाउरे, मारुनी तथा संगीमा मुरली, मादल, डम्फु आदि हुन् । हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ । त्यसैले हुर्रा नाच एकदमै लोकप्रिय छ । हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात् ‘देवी नाच’ भन्ने गरिन्छ ।
मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ । मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ । हुर्रा नाच विशेषगरी तिहारमा नाच्ने गरिन्छ । हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच्ने गरिन्छ । युवायुवती, बालबच्चाहरू हात समाएर गोलो बनाई नाच्नेलाई छोटी कदमे, मादलेहरू भटयाउनेहरू दुई कदमे र त्यही तालमा बुढाबुढी लस्करै तीन कदमे नाच्ने गरिन्छ । यो नाच नाच्दा ‘देशै रमाइलो’ पंक्ति जोडेर गीत गाउँदै नाच्ने गरिन्छ ।
मगर जातिको मुख्य धर्म तान्त्रिक हो । तर हिन्दु र बौद्ध धर्मको प्रभावले हिन्दु र बौद्ध धर्म मान्ने गरेको पाइन्छ । मगर सांस्कृति रुपमा निकै धनी जाति हो । यसै सन्दर्भमा मगर जातिको चर्चा गरौं ।
भाषा
मगर जातिको आफ्नै छुट्टै भाषा रहेको छ । मगरहरू भोट–बर्मेली भाषा बोल्ने गर्दछन् । मगरको लिपि अक्खा हो । मगर भाषा तीन किसिमका हुन्छन् । तीनै किसिमका भाषालाई मगर भाषा ९मातृभाषा० भनिन्छ । भोट–बर्मेली अन्तर्गत मगर ढुट, खामरपाङ र काइके भाषा हुन् । यसमध्ये ढुट भाषा मुख्य हो । काइके भाषा बोल्नेहरू धेरै कम रहेकोले लोप हुने अवस्थामा पुगेका छन् ।
मगर समुदायमा बासोबास भएको गाउँबस्तीमा आफ्नै मातृभाषा बोल्ने गरिन्छ । तर आफ्नै भाषा बोलेता पनि नेपाली भाषा बोल्न सबैले जानेका हुन्छन् । मातृभाषा विद्यालय, कलेज, संघ, संस्था, सरकारी कार्यालयमा काम नलाग्न सक्छ । तर मगर जाति भनेर चिनाउने पहिचान भनेको नै मातृभाषा हो । मगर जातिको राजनीतिक, आर्थिक, इतिहास, सामाजिक, संस्कार, संस्कृति मात्र नभएर मातृभाषालाई प्रमुख पहिचान रूपमा मानिन्छ ।
थर–उपथर
मगर जातिमा केही थर र हजारौं उपथर रहेको पाइन्छ । मुख्य थरमा थापा, घर्ती, पुन, बूढामगर, राना, आले, बुढाथोकी, छन्त्याल र काइके आदि हुन् । थर ठाउँ, विशेषता र व्यवसाय आदिबाट राखिएको पाइन्छ । मगर जातिमा कति थर, उपथरका हाँगाबिँगा छन् भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
भेषभूषा र गहना
मगर जातिका आफ्नै भेषभूषा र आभूषण रहेका छन् । यही भेषभूषा र आभूणले गर्दा अरू जातिभन्दा अलग देखिन्छ । मगरका भेषभूषाले अन्य जातिलाई समेत प्रभावित पारेको पाइन्छ । पुरुष मगरहरूको भेषभूषा भोटो, लँगौटी, कछाड, अक्कोट र टोपी नै मुख्य हुन् । कम्मरमा खुकुरी भिर्नुलाई जातीय गुणका रूपमा लिने गरिन्छ । यसैगरी महिलाहरूको भेषभूषा मखमली चोलो, घलेक, मजेत्रो, टेलिकटन र पोलिस्टरका गुन्यूँ, टिकिस र पटुका मुख्य हुन् । पहिला–पहिला महिलाहरूले भांग्रा लगाउने गर्दथे । हिजोआज भांग्राको सट्टा घलेक लगाउँछन् । महिलाहरूले लगाउने गरगहनामा चाँदीको बाला, कानमा माडवारी, नाकमा बुलाकी, फुली, ढुंग्री, मुन्द्री र कण्ठा, सिखण्दी, क्लिप फूल, तिलहरी, जन्तर, औंठी, चुरा, रैया, थोका, हम्बेल, कल्ली तथा सुनका कुण्डल, कानमा लगाउने लुर्के सुन आदि मुख्य हुन् ।
गाजा–बाजा
मादल, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, खैंजडी, अलङका, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, दमाहा, डम्फु, मरुली, झ्याली जस्ता बाजाहरूमा हुन् ।
छेवर–पास्नी र गुन्युँचोलो
मगर समाजमा छोरी भए पाँच र छोरा भए छ महीनामा नयाँ कपडा दिएर पास्नी गरिदिने चलन छ । यसलाई पुरभदै भनिन्छ । केही ठाउँ, स्थान र समुदायअनुसार न्वारानकै दिन बच्चालाई तीनचोटि मुखमा भात खुवाउछन् । यसरी खुवाउनुलाई अन्नप्रसान भन्छन् । अन्नप्रसानमा १३ किसिमका परिकार हुन्छन् । सो परिकार सालको पातमा राखेर खुवाइन्छ । अन्नप्रसानमा आफन्त र गाउँका सबैलाई बोलाइन्छ । बच्चालाई चाँदीको बाला दिने चलन छ । बाला नदिनेहरूले बच्चालाई सगुनका रूपमा दक्षिणा दिने गर्दछन् । जेठो छोरो जन्म्यो भने पुरभदै भाग भनेर कुलदेवतालको पूजा गर्ने चलन छ ।
मगर समुदायमा छोरो तीन, पाँच, सात र नौ वर्ष पुगेपछि साइत जुराएर छेवर गरिन्छ । धेरै ठाउँमा छेवर मावलीले नै गरिदिन्छन् । छोरीलाई पनि पाँच वर्ष पुगेपछि नयाँ घाँघर दिने गरिन्छ । केही मगर समुदायमा नौरदश वर्षमा छोरीलाई गुन्युँचोली दिने गरिन्छ । छेवररपास्नीमा पनि मामाली, वैनावाल, नातागोता र आफन्तलाई बोलाएर भोज खुवाउने चलन छ । भोज खुवाइ सकेपछि बिहेमा जस्तै मामाली र बैनावालाई स्वागत र बिदाइ गर्ने चलन छ ।
विवाह संस्कार
मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ । मगरहरू विवाह गर्दा आफ्नै जातभित्रै गर्ने गर्छन् । मामाको छोरीलाई फुपूको छोराले विवाह गर्दछ । तर मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन् । मगर जातिमा मामा र भान्जाको सम्बन्ध बढी पृथकता रहेको छ । किनभने मामाको छोरी ९साली०को पहिलो हकदार भनेको फुपूचेला भान्जा नै हो । भान्जाले आफ्नो छोरी हुँदाहुँदै अरूसँग विवाह गरेमा बाटो बिराएको भनी मामाहरूले दण्ड–सजाय समेत दिने गर्दथे । यदि भान्जाले अन्यत्र विवाह गरेमा मामालाई कारण दिनुपर्दथे । तर हिजोआज मामाचेली विवाह गर्ने चलन हट्दै गएको छ ।
मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ । केटीलाई भगाएर विवाह गर्नुलाई ‘केटी छोप्ने’ भनिन्छ । विवाह भइसकेपछि केटाकेटीहरू केही महीनापछि ससुराली जाने गर्दछन् । त्यसलाई ‘चार तिर्ने’ भनिन्छ । चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगे बापत दण्ड जरिवाना स्वरूप एक ठेकी दही, सिक्का पैसा, रक्सी, सेलरोटी, कुखुराको भाले साथै तिरने रुपैयाँ हो । चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जान पाइन्छ । त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोसाथ छोरीज्वाईंलाई विदा गरिन्छ ।
क्षेत्रीरबाहुनको जस्तै बिहेमा विधि उस्तै भए पनि चालचलन र रीतिरिवाज अलिक फरक छ । चेली केटाको घरमा पठाइसकेपछि मामाली, वैनावाल र नातागोतालाई भोज खुवाउने चलन छ । भोज खुवाइसकेपछि मामाली, बुढामामाली, दुधमामालीलाई स्वागत र बिदाइका लागि सुगुरको साँप्रो ९गाउँघरको चल्तीको भाषामा भन्नु पर्दा ‘फिला’० रक्सी, सेलरोटी, चामल दिने चलन छ । त्यसैगरी बैनावाल ९आमाको दिदीबहिनी०लाई पनि रक्सी, चामल, सेलरोटी र मासु दिने चलन छ । मामाली र बैनावालाले दक्षिणास्वरूप पैसा दिने गर्छन् । यो चलन केटाकेटी दुबैतिर हुन्छ । हिजोआज पनि यो चलन यथावतै छ । बिहे भएको साल मामाकहाँ र आफन्तकोमा टीका थाप्नु जानुपर्छ । मामा घरमा टीका थाप्नु जाँदा कुखुराको भाले, रक्सी, सेलरोटी आदि कोसेली लिएर जानुपर्छ । यो मगर जातिको रीत हो । मगर जातिको महत्वपूर्ण कोसेली रक्सी र सेल रोटी हो । केटी माग्न जाँदा पनि रक्सी, ठेकीमा दही, सिक्का पैसा, सेलरोटी कोसेली लिएर जानु पर्छ । अझै पनि यो चलन यथावतै छ । यदि केटी पक्षलाई केटा मन पर्यो भने केटी पक्षले स्वीकृत गर्छन्, यदि मन पराएन भने केटा पक्षले लगेको सामान अस्वीकृत गरी फिर्ता गर्ने चलन छ ।
पेशा–व्यवसाय
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ । अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन् । घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन् । विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने ९घुम० बुन्ने गर्दछन् । यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन् । हिजोआज पढेलेखेका मगरहरू डाक्टर, इन्जिनियरिङ, सैनिक, प्रहरी, पत्रकार, शिक्षक, वकील तथा राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ ।
मृत्यु संस्कार
मगर समुदायमा मानिस मरेपछि संस्कार नगरेमा मोरीरवायु बनेर घरपरिवार र आफन्तलाई दुःख दिन्छ भन्ने मान्यता रहेको छ । मोरी–वायुले परिवारका सदस्यलाई बिरामी बनाउँछ भन्ने गरिन्छ । त्यसैले लासलाई अन्तिम संस्कार गर्नुभन्दा पहिला अरू कसैलाई पनि छुन दिइँदैन । लासलाई जनवार र अन्य जातले छोएमा मोरी बन्छ भन्ने विश्वास गरिन्छ ।
चाडपर्व र माघे संक्रान्ति
मगर जातिले होली पूर्णिमा, महाशिवरात्री, चैतेदशैं, नयाँ वर्ष, बुद्धजयन्ती, वैशाख पूर्णिमा, साउनेसंक्रान्ति, दशैं, तिहार, माघेसंक्रान्ति, श्रीपञ्चमी, छँगो, याचा पर्व, बेजा पर्व, भुम्या चाड, झाँक्री मेला, झोरा, गोठ पूजा, हरेलो पूजा, हात्तीको पूजा, मंसीरे पूर्णिमा आदि लगायतका चाडपर्व मनाउने गर्छन् । विशेष गरी यस जातिले माघेसंक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गर्छ । त्यसैले यस चाडलाई तीन दिनसम्म मनाउने चलन छ । यस जातिको राष्ट्रिय र प्रमुख चाड भएतापनि अरू जातजातिहरूले पनि आ–आफ्नै तरीकाले मनाउने गर्छन् ।
मगर समुदायको संस्कार संस्कृति बचाउन चेलिबेटीलाई खुवाउने, सकेको दान दिने र पाकेका बालीहरू भित्रयाउने पर्वको रूपमा पनि मनाउने गरिन्छ । यो पर्वमा माइतीले चेलीबेटीलाई बोलाएर विभिन्न खानाका परिकारहरू खुवाउने चलन छ । विवाह गरेर गएका छोरीचेलीलाई माइतीले सम्झने पर्व हो । आफ्नै छोरीचेली नभएकाहरुले दाजुभाइ खलकका चेलिबेटीलाई बोलाएर भए पनि खुवाउने गर्छन् । चेलीहरू माइत आउँदा रक्सी, पिडालु, सेलरोटी र तरुलको पाहुर लिएर आउनु पर्छ । मगरहरूले माघको पहिलो दिनलाई जेठी संक्रान्ति र दोस्रो दिनलाई कान्छी संक्रान्ति भनेर मनाउने गर्दछन् । जेठी संक्रान्तिका दिन आउन नपाएका चेलीहरूलाई कान्छी संक्रान्तिका दिन बोलाइन्छ । पहिलो दिन आउन नभ्याएका चेलीहरू भोलिपल्ट आउने गर्दछन् । यो चाडमा पिडालु अनिवार्य रूपमा खानुपर्छ । त्यसैले माघेसंक्रन्तिका दिन पिडालुलाई मुख्य खाना बनाएको पनि पाइन्छ । माघेसंक्रान्तिलाई पितृको स्मरण र चेली पुज्न पर्वका रूपमा लिइन्छ ।
यो चाड उँभेली यामको प्रारम्भसँग अन्तरसम्बन्धित रहेकाल समाज र समुदायअनुसार आ–आफ्नै मूल्यमान्यता र चालचलन अनुरूपमा मनाउने गरेको पाइन्छ । मगर समाजमा माघेसंक्रान्तिलाई उँभेलीको पहिलो चाड वा नयाँ वर्षको रूपमा मनाउने गर्छन् । त्यसैले मगर समुदायमा मनाइने माघेसंक्रान्तिको रीतिरिवाज र संस्कारको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ ।
मगर समुदायमा माघेसंक्रान्तिको दिन चेलिबेटीलाई पुज्ने गरिन्छ । जसलाई ‘मिसरा’ वा ‘निस्रो’ भनिन्छ । विवाह भइसकेका चेलिबेटीलाई चामल, तरुल, सखरखण्ड, रोटी, पिडालु, फलफूल, मासु, रक्सी, सिमी, पुरी, मिठाई तथा विभिन्न परिकारका खानेकुरा र दक्षिणा राखेर दिने चलन छ । जुन खाने कुरा सोही दिन गाउँभन्दा टाढा गएर ९वनभोज० खाने गर्छन् चेलिबेटीहरू । साथै मनोरञ्जन पनि गर्छन् ।
विवाहित चेलिबेटीहरू माइत आउन नसकेको खण्डमा उनीहरूकै घरमा मिसरा लिएर बाड्न जाने गर्दछन् । मिसरा बाँड्न जाँदा सकेसम्म दाजुभाइ बुवा आफैं चेलीको घरमा जाने चलन छ । सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ । माघेसक्रान्तिमा चेलिबेटी पुज्नाले मगर समुदायको सांस्कृतिक र सामाजिक पहिचा बोकेको छ ।
चेलीहरू बिहानै उठेर नजिकको धारा, पँधेरो, खोला–नदी वा दोभानमा नुहाएर घर फर्किसकेपछि बुवा–आमा र दाजुभाइले टीका दक्षिणा गरी मिसरा उपहार दिएर पुज्ने गर्छन् । माइतीमा आएका चेलीहरू र अन्य गाउँका चेलीहरूले मिसरा खाइसकेपछि गाउँटोलका साथीहरू एक ठाउँमा भेला भएर तिहारमा भैलोदेउसी खेले झैं घर–घरमा पुगेर मस्यान्द्रा माग्ने गर्छन् । मस्यान्द्रा माग्ने टोलीले घरको ढोकामा झोप्ल्यानी टाँसेपछि एकै स्वरमा “मस्यान्द्रा पाई नपाई” भन्दै घरका सदस्यहरूलाई दही–चामलको सेतो टीका र झोप्ल्यानी लगाइदिन्छन् । घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातको टपरीमा एक टपरी चामल, नून, तेल, मासु, पिठो, गहुँ र फापरको रोटी आदि खानेकुरा र दान–दक्षिणा दिइन्छ । यसरी चेलीहरूले मागेर संकलन गरिएका खानेकुरालाई ९वनभोज० घरभन्दा टाढा रमणीय ठाउँमा गएर साथीसंगीहरूसँग रमाइलो गर्दै खाने गरिन्छ । उनीहरू दाजुभाइले निस्रोमा दिएको उपहार, चामल र विभिन्न खानेकुरा तथा खाना पकाउने भाँडाकुँडा पनि लिएर जान्छन् । निस्रोमा दिएको खानेकुरा र उपहार त्यही दिन सिध्याउने चलन छ ।
संक्रान्तिको दिन साँझपख गाउँको चौतारामा भेला भई आफ्ना दुःख–सुःखका कुराहरू साटासाट गर्दै होम्पई नाच्छन् । मगर समुदायले होम्पई नाचलाई विशेष रूपमा लिने गरिन्छ । यो दिन डोकोलाई सारी–चोलो लगाइदिएर पोते–तिलहरी र चुरा लयायतका गहनाले सजाइन्छ । होम्पई नाँच्दा दिदीबहिनीहरू डोकोभित्र रहेर काठबाट बनाइएका टाउको, हात हल्लाउँदै, ठट्टा गर्दै फनफनी घुमेर नाच्छन् । केटाकेटीदेखि बुढापाका तथा जुनसुकै उमेर समूहका पनि नृत्य र मेला हेर्न चौतारामा भेला हुन्छन् । नाच र मेला हेर्न सहभागी भएका दर्शकहरू आ–आफ्नै तरीकाले रमाइलो गर्छन् । मेलामा कसैले पिङ खेल्छन्, कसैले धनुषकाँड खेल्छन् । कसैले नाच हेर्छन्, कसैले दोहोरी गाएर रमाइलो गर्छन् । युवतीहरूले होम्पई नाचिसकेपछि युवा र बूढापाकाहरू ‘पैस्यारु’ नाच्छन् । यो नाच गोलो आकार बनाएर मादल, झिली, पैजन, छिनछिनेजस्ता बाजागाजाको धुनमा नाचिन्छ । पैस्यारु नाच बाइस चालामा नाचिन्छ । यस नाचको बीचबीचमा तालसँगै स्वरको लय मिलाउनु पर्छ ।
माघेसंक्रान्तिको दिनदेखि पुरुषहरू भेला भई चउर वा खुल्ला खेतीबारीमा गएर तारो, धनुषकाँड वा गुलेलीले तारो हानेर मनोरञ्ज लिदै खेल्ने गर्छन् । यसरी धनुषकाँडले निशाना वा तीर लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ । रुकुम–रोल्पा जिल्लाको मगर समुदायमा पुस १५ गते नम्सुइँ ९तीर फुकाउने० विधि गरेर तीर हान्ने अभ्यास शुरू गरिन्छ । विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि कुनै ठाउँमा काठको फ्ल्याकमा अङ्गारले लगाएको गोलो चिहृलाई धनुषकाँडको निशाना बनाइन्छ । यो खेलमा सहभागीमध्ये जसले निशाना लगाउन सक्छ, त्यस व्यक्तिलाई फूलपाती लगाएर बाजागाजा बजाउँदै ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ गीत गाउँदै काँधमा बोकेर गाउँ डुलाउने गरिन्छ । साथै सम्मान तथा पुरस्कृत गर्ने चलन पनि रहेको छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्छन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरूप फिर्ता दिने चलन छ । यो तारो हान्ने कार्य तीन–चार दिनसम्म पनि चल्ने गर्दछ । उहिले तारो हानेर बिहे गर्ने चलन थियो, तर हिजोआज यो परम्परा हटिसकेको छ ।
माघे संक्रान्तिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई संकेत गर्दछ । सिस्नोको जरा खान आएका वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको छ ।
मगर समुदायमा मृत्यु भएका पितृलाई सम्झने पर्वको रूपमा पनि लिने गर्छन् । मगर जातिले पितृपूजालाई एकदमै महत्व दिन्छन् । संक्रान्तिको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्थु बगाउने, जलाउने र दान–दक्षिणा गर्ने चलन रहेको छ । अझ विशेष गरेर पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेती, गुल्मीको रिडी, उदयपुरको त्रियुगा, कमला आदि नदीनालामा नुहाएर पवित्र बनेर पूर्खालाई तर्पन दिने र मृत्यु भएका परिवारजनको कुनै सामान, लत्ताकपडा नदीमा बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ । पितृको नाउमा केराको पातमा एक मुठी चामल र मासको दाल, अदुवा, बेसार, सिद्रा, मर्चा, फलफूल र जाँड–रक्सी सात ठाउँमा राखेर आफ्ना दिवंगत पूर्खालाई सम्झेर धूपबत्ति सहित पितृलाई चढाउने चलन छ । जसलाई, ‘मुठी याहाके’ ९मुठी दिने० वा ‘डी डाके’ ९पानी चढाउने भनिन्छ । साथै सुगुरको मासु, तरुल, सेलरोटी र विभिन्न परिकार पकाएर टपरीमा राखी अगेनामाथिको भारमा राखी मरेका पूर्खाको नाउँमा चढाइने पनि गरिन्छ । पितृलाई रक्सी अनिवार्य चढाइन्छ । यस्तो गरेमा मृतात्माले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ ।
अन्तमा,
माघे संक्रान्तिको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ । यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो । त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोलाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा संवद्र्धन गर्न जरूरी छ ।
मगर जातिको परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन् । विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन् । नेपाल मगर संघ लगायत भ्रातृ संघ–संस्थाको निरन्तर अथक संघर्षको कारण मगर जातिको अस्तित्व र पहिचानको प्रतिक, संस्कृति, माघे संक्रान्तिको मगर जातिलाई नेपाल सरकारले सम्मान दिएको छ । त्यसैले मगर जातिको अस्तित्व र पहिचानको प्रतिक माघे संक्रान्ति भव्यताका साथ मनाऔं । यदि हामीले हाम्रो पहिचान र संस्कृतिलाई संरक्षण दिन सकेनौं भने हराएर जाने सम्भावना रहन्छ । मगर भाषा, भेषभूषा, कला, संस्कृति, संवद्र्धन र संरक्षण गरी जोगाइ राखौं ।
झोर्ले १ जेडौ १ नमस्कार १
लेखक उदयपुर मगर समाजका महासचिव हुन् ।