पर्यटक शुल्क गाउँपालिकाले पाउँनुपर्छः लोप्साङ छोन्फेल (राजु विष्ट) 

मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङको गाउँपालिका हो ‘लो–घेकर दामोदरकुण्ड’ कृषि र पर्यटन मुख्य आम्दानीको स्रोत रहेको यस गाउँपालिका साविकका सुर्खाङ, चराङ र घमी तीन वटा गाउँविकास समिति समेटेर बनाइएको हो । भौगोलिक रुपमा विकट रहेपनि विदेशी पर्यटकहरुका लागि आकर्षित गर्न सफल उपल्लो मुस्ताङ क्षेत्रमा पर्ने यस गाउँपालिकालाई समृद्ध बनाउँनका लागि कृषि र पर्यटनलाइ नै मुख्य आधार मानेर गाउँपालिकाले योजनाहरु बनाइरहेको छ । यस विषयमा गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल (राजु विष्ट)सँग गरेको कुराकानी ।
तपाइले नेतृत्व गरेको गाउँपालिकालाई समृद्ध बनाउँनका लागि कस्ता योजनाहरु सहित अगाडि बढ्नु भएको छ ?
उपल्लो मुस्ताङ क्षेत्रको पर्यटकीय स्थलका रुपमा रहेको यस गाउँपालिका साविकका तीन गाविस सुर्खाङ, चराङ र घमी गाविसलाई समेटेर बनाइएको गाउँपालिका हो । यहाँका जनताको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन र कृषि भएकाले पर्यटन र कृषिमार्फत नै समृद्धी प्राप्ती गर्ने योजना सहित गाउँपालिका अगाडि बढीरहेको छ । उच्च हिमाली भेग भएपनि यस क्षेत्रमा स्याउ, फापर, उँवा उत्पादन हुनुका साथै याक, भेडाच्याङ्ग्राको व्यवसायीक पालन भइरहेका छन् । यहीबाटै स्थाानीयले आफ्नो आयआर्जन गर्दै आइरहेकाले यीनै क्षेत्रलाई व्यवस्थित गरी समृद्ध गाउँपालिका निर्माणका लागि योजना बनाइरहेका छौं ।
कृषि उत्पादन बृद्धिका लागि के के काम गरिरहेको छ त ?
हामीले यहाँ उत्पादन हुने परम्परागत कृषि उपजहरुलाई व्यवसायीक बनाउँनेतर्फ अगाडि बढीरहेका छौं । यहाँ उत्पादन हुने फापर, उँवा लगायतका कृषि उपजको बजार राम्रो भएकाले यहाँको परम्परागत खेती प्रणालीलाई व्यवस्थित गरी आधुनिक कृषि उपज उत्पादनका लागि गाउँपालिकाले कृषि विज्ञहरुसँगको सरसल्लाहमा योजना अगाडि बढाइरहेका छ । यस क्षेत्रको मुख्य बजार तिब्बती क्षेत्र हो, हरेक वर्ष दुईपटक लाग्ने ब्यापार मेलामा तिब्बती क्षेत्रबाट आउने खरिदकर्ताहरुले यहाँको कृषि उपज गुणस्तरीय हुने भन्दै खरिद गर्ने गरेकाले अहिले भइरहेको कृषि उपज उत्पादनलाई असर नगर्नेगरी थप परिस्कृत गरेर अगाडि बढ्ने योजना बनाइरहेका छौं ।
उपल्लो मुस्ताङ क्षेत्र बाह्य पर्यटकहरुको आकर्षणमा छ पर्यटन विकासका लागि खास के के भइरहेको छ ?
विशेषत हिन्दु धर्मावलम्बीहरुको पुँज्य शालिग्राम शिला उत्पत्ती भएको स्थल दामोदर कुण्ड यही गाउँपालिका भित्र पर्दछ, विश्वभरका हिन्दु धर्मावलम्बीहरुका लागि दामोदर कुण्ड पुग्नु जीवनकै सबैभन्दा ठूलो उपलब्धी मान्ने गर्दछन्, यो कुण्ड लगायत विदेशी पर्यटकहरुले पैदल यात्राका लागि रोज्ने मुख्य ठाउँमा उपल्लो मुस्ताङ प्रमुख हो, यहाँको प्राकृतिक सम्पदा, धार्मिक स्थल, हजारौं वर्ष पुराना संरचना, हिमश्रृङ्खला, तालतलैलाहरुको अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरी संरचना निर्माण तथा प्रवद्र्धनात्मक कामहरु गाउँपालिकाले गरिरहेको छ ।
अहिले नेपालले कोरल्ला नाका सञ्चालनका लागि तिव्र गतिमा सडक विस्तार गरिरहेको छ, सडक विस्तारले पैदल यात्रामा निस्कने यात्रुहरुलाई समस्या पर्दैन ? यसका लागि के योजना छन् ?
निश्चयनै विदेशी पर्यटकहरुले उपल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नका लागि दैनिक ५० डलर रुपियाँ नेपाल सरकारलाई बुझाएर हाम्रो ठाउँमा पदयात्राका लागि आउने गर्दछन् । थोरै दिन मात्र बिताउने पर्यटकपनि कम्तीमा १० दिन उपल्लो मुस्ताङ क्षेत्रमा घुम्ने गर्दछन्, सडकको विस्तारका कारण केही ठाउँमा पदमार्ग व्यवस्थापनको काम नभएपनि गाउँपालिकाले विभिन्न ठाउँमा बैकल्पिक पदमार्ग निर्माण तथा भञ्ज्याङहरु निर्माण गरेर पदयात्री पर्यटकहरुलाई आकर्षित गर्ने काम गरेका छौं । गत आर्थिक वर्षमापनि यसै गाउँपालिकाको सुर्खाङ–लुरी, घमी–द्यैते, स्याङ्बोचे–छेङ्गसम्मको पदमार्ग निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उपल्लो मुस्ताङमा थप आकर्षित गर्ने काम गरिरहेका छौं । सरकारले कोरलला नाका सञ्चालन गर्ने भन्दै कालिगण्डकी करिडोर निर्माणको कामलाई तिव्रता दिइरहेको छ, यो करिडोर मुस्ताङ जिल्लाको लाइफलाइन बन्न सक्छ । पदयात्रीका लागि सडकले असर गरेको भनिएपनि त्यो केही प्रतिशत मात्र हो । उपल्लो मुस्ताङमा यस्ता थुप्रै पदमार्गहरु रहेका छन् ।
एक पर्यटकले दैनिक ५० डलर राज्यलाई तिरेर तपाईको क्षेत्रमा घुम्न आउँछन्, त्यो रकम गाउँपालिकालाई प्राप्त भएको छ कि छैन ?
उपल्लो मुस्ताङ क्षेत्रमा वर्षेनी हजारौं पर्यटकहरु पदयात्रा लागि आउँने गरेका छन्, तिनै पर्यटकहरुका कारण यस गाउँपालिका क्ष्ोत्रका मुख्य बजारहरुमा सञ्चालित होटल तथा स्थानीय कृषकहरुले आफ्नो जीविकोपार्जन गर्न सफल छन् तर राज्यले हरेक पर्यटकहरुबाट लिने पदयात्रा अनुमती दिएवापतको रकम गाउँपालिकामा प्राप्त हुन सकेको छैन । सडक सञ्जाल जोडिएपछि दामेदरकुण्डसम्म आउने भारतीय पर्यटकहरुलाई आकर्षित गर्न सक्ने अवस्था छ, त्यस्तै दामोदरकुण्ड हुँदै मनाङ निस्कने तेरिल्ला पास समेत विदेशी पर्यटकहरुका लागि मुख्य आकर्षण्को केन्द्र भएकाले पर्यटन शुल्कबाट राज्यले लिने रकम गाउँपालिकाले प्राप्त गर्न सक्ने हो भने ति पूर्वाधार विकास गरेर अगाडि बढ्न सकिने थियो ।
उपल्लो मुस्ताङ क्षेत्रमा बढी मात्रामा चिनियाँ सामाग्रीहरु देखिन्छन् कारण के होला ?
नेपालको एउटा सुन्दर भुभाग भएपनि उपल्लो मुस्ताङ क्षेत्र लामो समयसम्म राज्यको आँखा नपुगेको ठाउँ हो । काठमाडौंमा बसेर उपल्लो मुस्ताङमा आउने पर्यटकहरुलाई शुल्क लिने, यहाँसम्म पठाउँने गरिएपनि यहाँको विकासका लागि खासै काम भएका थिएनन्, सडक सञ्जालका कारण चिनको स्वशासित क्षेत्र तिब्बतसँग व्यवसायीक सम्बन्ध भएकाले यहाँको अधिकांशको रहनसहन तिब्बती परम्परामा रहेको छ । केही वर्ष अगाडिसम्म नेपाल र चीन बीचको सिमा खुल्ला भएकाले यताका मानिसहरु उता र उताका मानिसहरु यता गरेर व्यवसाय गर्ने गरेपनि केही वर्षदेखि सीमा क्षेत्रमा वर्षको दुई पटक लाग्ने व्यापार मेलाबाटै यहाँका मानिसहरु प्राय दैनिक उपभोग्य सामाग्री खरिद गर्नुपर्ने अवस्था रहेको थियो । नेपाली बजार क्षेत्रमा पाइने सामाग्रीहरु उपल्लो मुस्ताङ क्षेत्रमा पु¥याउँनका लागि सडक सञ्जालले समस्या पर्ने गरेकाले वर्षको दुई पटक लाग्ने व्यापार मेलामा वर्षभरीका लागि आवश्यक सामाग्री खरिद हुने गरेकाले यहाँको अधिकांश सामाग्रीहरु चिनिया क्षेत्रकै हुने गरेका छन् ।
सरकारले प्राथमिकतामा राखेको कोरल्ला नाका तपाइकै गाउँपालिका नजिकै बन्दैछ । यसबाट गाउँपालिकाले के फाइदा लिन सक्ला ?
कोरल्ला नाका सञ्चालनका लागि नेपाल सरकारले जति उत्साहका साथ काम सुरु ग¥यो, कार्यान्वयनमा उत्साह देखाउँँन सकेन । यतिबेला उपल्लो मुस्ताङ क्षेत्र भित्र पर्ने अधिकांश सडक सुधार भइसकेको छ । सडकमा भएको विकास जस्तै कोरल्ला नाका सञ्चालनका लागि चिनिया पक्षलाई विश्वासमा ल्याउनका लागि छिटो भन्दा छिटो काम गर्नुपर्छ । चिनियाँ पक्षले नेपालको सीमा क्षेत्रसम्म सडक सञ्जालसँगै भन्सार कार्यालयका लागि आधुनिक भवनहरु समेत निर्माण गरिसकेको छ तर नेपाल पक्षले अहिलेसम्म जग्गाको व्यवस्थापन गर्न सकेको छैन । उपल्लो मुस्ताङमा पर्ने लो–घेकर गाउँपालिका र लोमाङथान गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि दवाव दिदै सिमा क्षेत्रमै जग्गा उपलब्ध गराउँनुपर्ने माग गर्दै आइरहेका छ । नाका खुल्ने हो भने यस क्षेत्रका जनताले वर्षभरीका लागि पुग्ने सामाग्री खरिद गरेर राख्नुपर्ने अवस्थाको अन्त्य हुने, यहाँका उपजहरु चिनियाँ बजारमा सहज बिक्री गर्न सकिने र मानिसहरुको आवातजावातले यहाँको पर्यटन विकासमा थप मद्धत पुग्ने देखिन्छ ।
यहाँ उत्पादिन कृषि उपज चिनियाँ क्षेत्रमा बिक्रीको सम्भावना कत्तिको छ ?
सीमा क्षेत्रको तिब्बती क्षेत्रमा हुने कृषि, पशुपालन र यहाँको अवस्था उस्तै हो, चिनियाँ क्षेत्रबाट आउने केही सस्तो भएपनि गुणस्तर कम हुने भन्दै हामीले यताबाट बिक्रीका लागि लैजाने कृषि उपज चिनियाँहरुले नै राम्रो मुल्य दिएर खरिद गर्ने गरेका छन् । उपल्लो मुस्ताङका किसानहरुले उत्पादन गर्ने कृषि उपज गुणस्तर हुन्छ भन्ने कुरा देश विदेशमा समेत प्रचार प्रसार भएकाले यसको गुणस्तरलाई नघटाई आधुनिक विधिबाट उपज उत्पादन गर्न सक्ने हो भने चिनियाँ बजारमा नेपालको कृषि उपजले राम्रो बजार पाउने निश्चित छ ।
कर्मचारी व्यवस्थापनका विषयमा गाउँपालिकाको अवस्था कस्तो छ ?
हिमाली जिल्ला भएकाले अत्याधिक चिसो हुँने, भौगोलिक विकटता, आवातजावतमा समस्या हुने भएकाले टाढा टाढाका कर्मचारीहरु आउन नमान्ने समस्या देखिन्छ । लामो समयसम्म दरबन्दी अनुसार कर्मचारी नहुँदा हामीले प्राविधिक क्षेत्रका कर्मचारीहरुलाई समेत प्रशासनिक कामका लागि खटाउँनुपर्ने अवस्था रहेको छ । भौगोलिक रुपमा एउटा गाउँ र अर्को गाउँको दुरी धेरै टाढा हुने भएकाले थोरै कर्मचारीहरुले काम गर्न समस्या पर्ने भएपनि जसोतसो व्यवस्थापन भइरहेको छ । कर्मचारीको सही व्यवस्थापन हुन सक्ने हो भने गाउँपालिकाले गर्ने हरेक कामहरु गर्न सहज हुने थियो ।
गाउँपालिकाको पूर्वाधार विकासका लागि कस्ता कस्ता कामहरु भइरहेका छने ?
यस गाउँपालिका लगायत उपल्लो मुस्ताङ क्षेत्रमा प्रयाप्त सम्भावनाहरु रहेका छन् । यही क्षेत्रमा नेपाल र चीन बीचको बहुचर्चित कोरल्ला नाका समेत रहेको र बाह्य पर्यटकहरुले बढी मात्रामा रुचाउने पर्यटकीय स्थलहरु रहेकाले यी क्षेत्रलाई लक्षित गरी गाउँपालिकाको केन्द्र नजिकै रहेको चराङमा विमानस्थल निर्माणका लागि सर्वे समेत गरिसकेका छौं । विमानस्थल सञ्चालन हुन सके पर्यटकहरुलाई सहज हुने निश्चित छ । त्यस्तै गाउँपालिका क्षेत्रमा पदमार्ग निर्माण, सडक सुधारका काम भइरहेका छन् । लामो समयसम्म विद्युत बिहिन अवस्थामा रहेको यस क्षेत्रमा केही समय अगाडिदेखि राष्ट्रिय प्रशारण लाइन समेत जडान गरी विद्युत सुविधा प्राप्त भएको छ ।
अन्तमा आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउँने सोंच बनाउँनुभएको छ ?
लामो समयदेखि राज्यको आँखामा पर्न नसकेको यस क्षेत्रका जनताले आधारभूत मानवीय आवश्यकता समेत पुरा गर्न नसकेको अवस्थामा गाउँपालिकाले आधारभुत आवश्यकता पुरा गर्नेगरी काम गर्ने सोंचका साथ अगाडि बढेका छौं । विदेशी पर्यटकहरुको आकर्षणमा रहेपनि विद्युत पुग्न नसकेको यस क्षेत्रमा विद्युत पुगेको छ, सञ्चार सम्बन्ध विहित अवस्थामा रहेको यस क्षेत्रमा सञ्चारको सुविधा पुगेको छ, विद्यालयहरु स्थापना भइरहेका छन्, स्वास्थ्यचौकीहरु रहेपनि कुनै जटिल रोग लाग्दा वा दुर्घटना हुँदा सहज उपचारको समस्यामा स्थानीयवासीहरु रहेका छन् । त्यस्ता समस्या समाधानका लागि पूर्वाधारको विकाससँगै मानवीय आवश्यकता पुरा गर्नेगरी काम गर्ने सोंच बनाएका छौं । अहिलेपनि कोही दुर्घटनामा प¥यो वा एक्कासी विरामी प¥यो भने २–३ लाख खर्चेर हेलिकप्टर मगाउँनुपर्ने अवस्था छ, त्यसको अन्त्यका लागि चराङमा विमानस्थल निर्माण गर्ने सोंच बनाएका छौं । सामान्य रोगको उपचार गर्नका लागि स्थानीय सतरमा भइरहेका प्राकृतिक चिकित्साहरुलाई व्यवस्थित गर्ने, विद्यालयहरुलाई व्यवस्थित तथा गुणस्तरीय बनाउँने अभियानमा गाउँपालिकाको तर्फबाट लागिरहेको छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार