मेयरकप फुटबल माघमा

बागलुङ पुस १२ गते । बागलुङ नगरपालिकाको आयोजनामा हुने दोस्रो मेयरकप फुटबल प्रतियोगिता माघमा हुने भएको छ । खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि बागलुङ नगरपालिकाले हरेक वर्ष ठूलो पुरस्कार राशीको मेयरकप फुटबल आयोजना गर्ने नीति अनुसार आगामी माघमा मेयरकप फुटबलको आयोजना गर्न लागिएको हो ।

बागलुङ नगरकार्यपालिकाको बैठकले आगामी माघ १६ गतेदेखि राष्ट्रिय स्तरको मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगिताका लागि नगरपालिकाले जिल्ला फुटबल संघलाई जिम्मेवारी दिने समेत निर्णय भएको पौडेलले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्ने निर्णय गरेकाले फुटबल संघको कार्यतालिका अनुसार केही समय यताउता परेमा त्यसलाई व्यवस्थापन गर्ने गरी प्रतियोगिताको तयारी सुरु गरिएको पौडेलले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको पहिलो वर्ष प्रथम मेयरकप फुटबल प्रतियोगिता सम्पन्न गरेको बागलुङ नगरपालिकाले गत वर्ष फुटबल संघको कार्यतालिका नमिलेका कारण प्रतियोगिता आयोजना गर्न सकेको थिएन । यस वर्ष केही समय पहिलेदेखिनै फुटबल संघलाई बागलुङ नगरपालिकाले राष्ट्रिय स्तरको मेयरकप फुटबल प्रतियोगिता आयोजना चाहेको जानकारी गराएकाले कार्यतालिका अनुसार माघमा प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता आयोजना गर्नका लागि बागलुङ नगरपालिकालले २५ लाख रुपियाँ बजेटको व्यवस्था गरेको र राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दा बजेट अपुग भए थप व्यवस्था गरिने बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । जिल्ला फुटबल संघ बागलुङले केन्द्रको कार्यतालिकाअनुसार प्रतियोगिता आयोजना गर्दा राम्रो हुने भएकाले केन्द्रसँगको समन्वयमा प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार