त्यागी नेता किसुनजी

  गोकर्ण अर्याल 

नेपाली काँग्रेसका संस्थापक नेतामध्येका एक कृष्णप्रसाद भट्टराई (किसुनजी)को ९५औँ जन्मजयन्ती यसै हप्ता मनाइएको छ । किसुनजीको राजनीतिक जीवनलाई अनुशरण गर्ने सङ्घ, संस्थाहरूले विभिन्न ढङ्गबाट उहाँको आदर्श राजनीतिक जीवनको स्मरण गर्ने र उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने काम भएको छ ।

यही अवसरमा उहाँले आठ वर्ष जेल जीवन बिताउनुभएको सुन्दरीजल बन्दीगृह परिसरको सुन्दरीजल बीपी सङ्ग्रहालयमा निर्माण सम्पन्न किसुनजीको पूर्ण कदको सालिक अनावरण गरिएको छ । सोही ठाउँमा तीन दर्जनभन्दा बढी साहित्यिक स्रष्टाले आ–आफ्नो सिर्जनामार्फत किसुनजीलाई सम्झे पनि ।

सामाजिक सञ्जाल मार्फत पनि सन्त नेता भट्टराईलाई धेरैले सम्झेका छन् । ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित एक कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदानलाई दलका नेताले स्मरण गरे तर उहाँले आफ्नो राजनीतिक जीवन बिताउनु भएको राजनीतिक दल नेपाली काँग्रेसले यस सन्दर्भमा औपचारिक रूपमा केही गरेको देखिएन । हुन त वर्षदिनमा एकपटक सम्झेर मात्र उहाँप्रति श्रद्धा–सम्मान हुने होइन । प्रमुख कुरा त किसुनजीले अवलम्बन गर्नुभएको रजनीतिक पद्धति र चरित्रलाई आत्मसात् गर्न सकिएको छ कि छैन भन्ने हो । किसुनजीले अवलम्बन गर्नुभएको जीवन पद्धतिलाई आजको राजनीतिक सिद्धान्तले कसरी अनुशरण गरेको छ भनेर विश्लेषण गर्नुचाहिँ उहाँलाई संस्मरण गर्ने प्रमुख विषय हो भन्ने लाग्छ । उहाँले सादा जीवनबाट कसरी आफ्नो राजनीतिक अभिष्ट पूरा गराउनु भयो ? अर्थात् जीवनपर्यन्त निष्ठापूर्वक राजनीतिक लडाइ लड्ने आँट र साहस उहाँमा कसरी प्राप्त भयो ?, यस सन्दर्भमा लेखाजोखा हुनुपर्ने हो ।

 

सबैभन्दा ठूलो शक्तिका रूपमा निस्काम कर्मले उहाँलाई साथ दिएको थियो । राजनीतिक अधिकार र स्वतन्त्रताबाहेक उहाँमा कुनै किसिमको लोभ, मोह थिएन पनि । यही शक्तिले उहाँलाई विजयीसमेत गरायो । आज देश बनाउन भनेर नेतृत्वमा पुगेकाले पद र शक्तिको दुरुपयोग गरेको समाचार सार्वजनिक भइरहँदा किसुनजीको सादगी जीवनको सम्झना हुन्छ ।
सार्वजनिक पद र जिम्मेवारीमा रहेका देश र जनताको भन्दा आफू र आफ्नो परिवारको चिन्ता गर्ने राजनीतिक प्रणाली हावी हँुदै जान थालेको छ । आज सत्तामा पुगेकाहरू नियमपूर्वक सार्वजनिक गर्नुपर्ने सम्पत्ति सार्वजनिक गर्न आनाकानी गर्छन् । कतिपयले लुकाएर थोरै देखाउनेसमेत गरेका छन् । यस किसिमको अपारदर्शी सोचाइ र भावनाले समाजको सबै तह र वर्ग गिजोलिन थालेको छ । नेतृत्वमा बढ्दै गएको अपारदर्शी र बेथितिको सिको समाजको तल्लो तहसम्म देखापर्नु अस्वाभाविक होइन । यसलाई कम गर्न नेतृत्व नै इमानदार र पारदर्शी देखिनुपर्छ । यसका लागि किसुनजीको जीवनचरित्रको अनुशरण गर्ने प्रयास गर्नुपर्छ । किसुनजीको जीवन कति स्पष्ट र पारदर्शी थियो भन्ने कुरा २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका बेला सार्वजनिक भएको उहाँको सम्पत्ति विवरणले प्रमाणित गरेको छ । त्यसबेला उहाँको निजी सम्पत्तिका रूपमा माटाको सुराही, छाता, एउटा ट्याङ्का र एउटा गीताको किताब थियो । 
एक वर्षपछि प्रधानमन्त्री निवासबाट बाहिरिँदा पनि उहाँको साथमा योभन्दा बढी केही थिएन । यिनै सामान लिएर कोठा खोज्दै प्रधनमन्त्री निवासबाट निस्कनुभएको थियो । उहाँले यस किसिमको राजनीतिक जीवनमा रहेर देशलाई भने ठूलो उपहार दिनुभयो । उहाँको नेतृत्वमा गठित सरकारको प्रमुख कार्यमा नयाँ संविधान निर्माण गरेर त्यसका आधारमा प्रतिनिधिसभाको निर्वाचन गराउने थियो । यो काम उहाँले निर्धारित समयमै पूरा गराउनुभयो । यसरी आफू डुबेर पनि अरूलाई पार लागाउने काम गर्नुभयो र एउटा सफल नौका चालकको भूमिकामा देखिनु भयो किसुनजी ।
यसरी सादकी जीवनबाट उच्च बौद्धिकता प्रकट गर्ने क्षमता लिनुभएका किसुनजीको जीवनबाट सिक्नु र बुझ्नुपर्ने धेरै कुरा छन् । आजको राजनीतिक नेतृत्वले किसुनजीको गुणलाई अलिकता पनि ग्रहण गर्न सकिरहेको छैन । राजनीतिमा नैतिकता र इमानदारिता भएन भने त्यो राजनीति जनता र देशका लागि हुन सक्दैन । यतिबेला देश र दुनियाँको हितभन्दा पनि आफू र आफ्नो समूहको भलाइका लागि लिप्त हुने सोचाइ र प्रवृत्तिले राजनीतिक नेतृत्व स्खलित र कमजोर हुँदै गएको देखिन्छ । यसै कारण पछिल्लो समय राजनीतिक तहमा वा त्यसको आडमा हुने गरेका भ्रष्टाचारले बढी चर्चा पाउने गरेको छ ।

यतिबेला समाजको जिम्मेवार तह र निकायमा रहेका व्यक्ति जिम्मेवार ढङ्गबाट आफ्नो दायित्व पूरा गरिरहेका छैनन् । यसको सिको नेता, कार्यकर्ता हँुदै जनताको तहसम्म पुगेको छ । समाजका हरेक तहमा इमानदारी र नैतिकता कमजोर हुँदै जानथालेको छ । पद र शक्तिका आडमा जे पनि पाउन सकिन्छ भन्ने मानसिकता विकास भइरहेको छ । यसै कारण आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरी शक्ति केन्द्रमा धाउने र त्यसैको आडमा मनपरी गर्ने प्रवृत्ति हावी भएको छ । यो सोचाइ र प्रवृत्तिको अन्त्य नभएसम्म जस्तोसुकै राजनीतिक पद्धति अवलम्बन गरे पनि देशको प्रगति हुनसक्दैन । यसअर्थ भाषणमा वा शब्दमा किसुनजीको बखान गरेर मात्र उहाँको राजनीतिक चरित्र प्रकट हुने होइन । यसका लागि उहाँसरह त्याग र समर्पण पनि चाहिन्छ ।
उहाँले अवलम्बन गर्नुभएको नीतिलाई अनुशरण गर्न सकेमा नै त्यसको सार्थकत रहनेछ । अहिले पनि अधिकांश दल र तिनका नेताले राजनीतिक मर्यादाको पालना गरिरहेका छैनन् । यस्तो संस्कार र चरित्रले राजनीतिमा शुद्धता कायम हुनसक्दैन ।

वास्तवमा आफूमा रहेको राजनीतिक दर्शन र बौद्धिकतालाई सरल, स्पष्ट र व्यावहारिक रूपमा उतार्न सक्ने विशेष क्षमता र खुबीले किसुनजी लोकप्रिय नेता हुनुभएको थियो । यही खुबी र विशेषताले धेरै राजनीतिक समस्याको समाधान पनि गरियो । नेपाली राजनीतिमा सन्त नेताको रूपमा परिचित भट्टराईको समग्र राजनीतिक चरित्र र जीवनदर्शन नबुझ्नेहरूका लागि उहाँ अव्यावहारिक र हल्का नेताका रूपमा गनिनु पनि भएको हुनसक्छ तर उहाँका विशेषता र गुण जान्ने बुझ्नेका लागि भने उहाँ अत्यन्त सरल र स्पष्ट नेता हुनुहुन्थ्यो ।

सादा जीवन, उच्च विचारका धनी किसुनजीले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गराउनुभयो । उहाँमा रहेको राजनीतिक ज्ञान, अनुभव र सीपलाई अनुशरण गर्ने, गराउने वातारण अहिलेको राजनीतिमा हुनसकेको छैन । किसुनजीले आफ्नो विचार र दृष्टिकोणमा कहिल्यै कसैसँग सम्झौता गर्नुभएन र राजनीतिक जीवनमा कुनै पद र प्रतिष्ठाको अपेक्षा राखेर काम पनि गर्नुभएन । बीपी कोइरालाले तोकिदिएको पार्टीको कार्यवाहक सभापति र २०४६ सालको परिवर्तनपछि गणेशमान सिंहको प्रस्तावमा नै उहाँ प्रधानमन्त्री बन्नुभयो ।

त्यसैगरी २०५६ सालको आमचुनावमा पार्टीले पहिले नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर चुनावमा गएकाले उहाँ प्रधानमन्त्री हुनुभएको थियो । उहाँले जीवनको पछिल्लो चरणमा पार्टीमा बिग्रह हुनलाग्दा केही पाउने खोजीमा भन्दा पार्टीबाट आफूलाई अलग राख्नु नै श्रेयस्कर ठान्नुभयो । उहाँमा अहिलेजस्तो राजनीतिक लडाइँ र झगडा गरेर कुनै पद पाउने र बसिरहने अपेक्षा पनि कहिल्यै रहेन ।

यसरी किसुनजीले आफ्नो समग्र जीवनलाई कर्मयोगमा बिताउनुभयो । त्यसैकारण उहाँको राजनीतिक जीवन दर्शनको अध्ययनबिना गरिने टिप्पणीले उहाँप्रति न्याय गरेको ठहर्दैन । राजनीतिक तहमा यसको अभाव बढ्दै जान थालेका कारण पनि समस्या थपिदै जानथालेका छन् ।

समग्रमा बौद्धिक, राजनीतिक र आध्यात्मिक चेतका धनी किसुनजी कर्मयोगी नेता हुनुहुन्थ्यो । गीतामा भनेझै “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” उहाँले आफ्नो जीवनलाई कर्ममा समर्पित गर्नुभयो । यही कर्मप्रतिको विश्वासले उहाँमा कहिल्यै पनि फल पाउने आशा रहेन । सहज र स्वाभाविक रूपमा प्राप्त दायित्व र जिम्मेवारी बहनबाहेकमा लोभ पनि देखाउनु भएन । आफ्नो स्वार्थभन्दा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका किसुनजीको जीवनबाट अनुशरण गर्नुपर्ने धेरै विषय छन् । तीमध्ये केहीको मात्र अनुशरण गर्नसकेमा पनि मुलुकसामु देखापरेका वर्तमानका चुनौतीको सामना गर्न सकिन्छ ।

अहिलेको रजनीतिक नेतृत्व वा वातावरण यस दिशामा केन्द्रित हुनसक्छ कि सक्दैन महìवपूर्ण प्रश्न यही हो । यथार्थमा आजको दुनियाँमा किसुनजीलाई सम्झने अनगिन्ती हुनसक्छन तर सम्झना रख्नेहरू भने बहुत कम होलान् । यसबाट पनि कति सत्यमा रहेर उहाँको खोजी हुँदैछ भन्ने स्पष्ट हुन्छ ।

साभार: गाेरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार